पहिरोले बल्खु हेटौँडा सडक अवरुद्ध

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खसेपछि बल्खु हेटौँडा सडक खण्ड अवरुद्ध भएको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका- ६ चोभारमा आज बिहान दुई ठाउँमा पहिरो खसेपछि काठमाडौँबाट हेटौँडा जोड्ने सडक खण्ड अवरुद्ध भएको हो ।

पहिरो खसेपछि काठमाडौँबाट हेटौँडाका लागि छुटेका र हेटौँडाबाट काठमाडौँ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएको प्रहरी परिसर कीर्तिपुरका इन्सपेक्टर हिक्मतबहादुर थापाले बताए ।

पहिरोसँगै झरेको ढुंगाले लाग्दा एकजना स्कुटर चालक पनि सामान्य घाइते भएका इन्सपेक्टर थापाले बताए । इन्सपेक्टर थापासहितको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको र अबको केही समयमा सवारी साधन सञ्चालनमा आउँछ ।