गृहमा बुझाइयो सिमलताल दुर्घटनासम्बन्धी प्रतिवेदन 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गर्ने बताएका छन्।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाहरु निरन्तर भइरहेको भन्दै यस्ता घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको बताए। 

यसका निम्ति सरकारले सबै उपायहरु अवलम्बन गर्ने उनले स्पष्ट पारे। उनले सिमलताल दुर्घटनासम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावलाई कार्यान्वयन गर्ने बताए।

उनले भने, ‘प्रतिवेदनमा उल्लेख भएका जतिपनि सुझावहरु छन्। ति सुझावहरु सम्बन्धित निकायलाई पठाइनेछ र त्यसको कार्यान्वयन गराइनेछ, म यो प्रतिबद्धता व्यक्त गर्दछु।’

चितवन जिल्ला भरतपुर महानगरपालिका २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुबाहक बस बेपत्ता भएको थियो। हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ। अझै ३८ जनासहित बस बेपत्ता छ।