गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु  

काठमाडौँ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिए। विष्णु विक र हुकुम विकको घर भत्कँदा परिवारका अन्य दुईसहित चारजनाको निधन भएको हो।

एसपी भुजेलका अनुसार, पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुमुक विक, साढे दुईवर्षका रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो। 

एसपी भुजेलले भने, ‘उहाँहरू एकै परिवारका सदस्यहरू हुनुभएको खुलेको छ। दुईवटा घरमा छुट्टाछुट्टै बसेको अवस्थामा पहिरो खसेर घर पुरिएको रहेछ।’

पहिरोमा पुरिएर मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकी उपचार गराइएको छ। ‘अहिले मुचुल्का उठाएर प्रहरीको टोली त्यसतर्फ पुगेको छ। बिहान ९ बजे पहिरो गएको हो,’ उनले भने। घाइतेहरू बोल्न सक्ने अवस्थामा छन्।