संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्छ : रमेश लेखक  

काठमाडौँ । नेपाली काँग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । 

शनिवार संसद् भवन नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अव बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो ।

बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको काँग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताएका छन् । 

त्यस्तै बैठकले काँग्रेस–एमालेबिच भएको राष्ट्रिय सहमतीय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए । 

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशील गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समिक्ष गरेर संविधानको आवश्यक संशोधन गर्ने सवालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे ।