इजरायली राजदूत गोडरले भन्छन्–'विपिन छिट्टै रिहा हुन्छन्'

२४ जेठ, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले इजरायललाई विपिन जोशीको रिहाका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । आज मन्त्रालयमा नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग भेटवार्ता गर्दै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीको रिहाका लागि पहल गरिदिन आग्रह गरिन् ।

मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गरिन् । उनले नेपालको कृषिको विकासमा योगदान गर्न पनि राजदूत गोडरसँग आग्रह गरिन् ।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन् ।