प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ।