'सहकारी ठगहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ' : सांसद केसी

२४ जेठ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डण्डा बर्साएको बताए । ‘लोकतन्त्र, गणतन्त्र प्राप्तिको आन्दोलनमा जुन किसान, मजदुरहरूले साथ दिए, अहिले राज्यसत्तामा रजाइँ गर्ने कमरेडहरूलाई। उहाँहरूले जम्मा गरेको रकम अपचलन भएपछि‘ हिजोभन्दा पहिले सम्माननीय प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए– हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने । त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन् । गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छ ?,’ उनले भने ।

उनले राज्य सत्तामा पहुँच भएकाले रजाइँ गरेकाहरूले सहकारीको वचत हिनामिना गरेको बताएका छन् । यस्तो अवस्थामा चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको बताएका छन् ।