'समाजवादी मोर्चालाई प्रधानमन्त्रीले पोलेर खाइदिए' : उपेन्द्र यादव

काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाको औचित्य सकिएको बताएका छन् । दल विभाजनपछि सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको बताएका हुन् ।

‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए नि सहभागी हुने । मोर्चा नै सिध्याएपछि सहभागीको औचित्य छैन’, बिहीबार यादवले भने । सत्ता समीकरण फेरिएपछि यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए । उनी अमेरिका र कतार भ्रमण रहेकै बेला जसपा नेपालका सङ्घीय परिषद्का अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको उनको आरोप छ । सरकारबाट बाहिरिएपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बुधबार यादवसँग छलफल गरेका थिए । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उनले बताए ।