बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु

काठमाडौँ । बारामा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटी गरिरहेका प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१(००ख ६१२३ नम्बरको बसको ठक्करबाट यादवको मृत्यु भएको हो ।

यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।  मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उनले बताए ।