'उम्मेदवारको नामै जीतबहादुर हो, इलाम–२ मा हामी जसरी पनि जित्छौँ' : झलनाथ

 इलाम - सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाममा आफ्नो पार्टीको उम्मेदवारले चुनाव जित्ने दाबी गरेका छन् । इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका तर्फबाट जीतबहादुर राईको उम्मेदवारी दर्तापछि नेता खनालले सबै चकित हुने गरी पार्टीले उपनिर्वाचन जित्ने दावी गरे ।

‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जीतबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । परिणाम आएपछि धेरै चकित हुनेछन्,’ उनले भने । नेता खनालले पार्टीले उम्मेदवार फिर्ता नगर्ने पनि बताए । बरू गठबन्धनमा रहेका अन्य दलले आफ्नो पार्टीको उम्मेदवारलाई फिर्ता गरी एकीकृत समाजवादीलाई सघाउन उनले आग्रह गरे ।