कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी - कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्।

काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएका छन्। आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।

“हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भने,“बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन्।”

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्। कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन्।