बागमती सरकारबाट बाहिरिँदै कांग्रेस, ६ मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ - माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ ।

केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको कांग्रेसले जनाएको छ ।

बागमतीमा १२ सदस्यीय मन्त्रीपरिदमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी गरी कांग्रेसका ६ मन्त्री छन् ।

अर्थ मन्त्री बहादुर सिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए भने वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए ।