त्रिशुली बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

काठमाण्डौँ - धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।