त्रिशूलीमा बस दुर्घटना : घाइतेको उपचार र उद्धार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेँसीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्रीले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशन पनि दिएका छन् ।

कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस आज बिहान त्रिशूली नदीमा खस्दा हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन् ।

उनले दुर्घटनामा ४२ जनाभन्दा बढी घाइते भएका बताए । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।  बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।