एक हप्ताअघि भारत गएका पूर्वराजा आज नेपाल फर्किँदै

काठमाडौं - गत सोमबार परिवारका सदस्यसहित २६ जनाको टोली लिएर स्थलमार्ग हुँदै पुगेको पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आज नेपाल फर्किँदै छन्।

उनी दिउँसो झापा आइपुग्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा भारत पुगेका पूर्वराजाले मोदीसँग भेट गरे नरेको खुल्न सकेको छैन।

उनी झापाबाट स्थलमार्ग हुँदै भारतको बागडोगरा पुगेका थिए। र त्यहाँबाट दिल्ली गएका थिए। उनी सो मार्ग हुँदै आज झापा आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

स्रोतले पूर्वराजा शाहको भारत भ्रमण व्यक्तिगत र पारिवारिक भएको बताएको छ। तर यति बेला नै भारत भ्रमणमा किन जानु पर्यो भन्ने केही पनि खुलाइएको छैन।

भारतमा रहँदा उनले राजनीतिक भेटघाट गरे नगरेको पुष्टि हुन सकेको छैन। यद्यपि मोदीको निमन्त्रणमा भारत भ्रमणमा गएका भनिएका पूर्व राजाले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मोदीका सल्लाहकारसँग भेट गरेको बताइएको छ।

नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए।

पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ९आरएसएस०को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए।

यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए।

विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन्। यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।