देशभर बढ्यो चिसो, जुम्लाको उच्च तापक्रम माइनस पाँच डिग्री  

काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । ‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ,’ मौसमविद् अधिकारीले भने ।

आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ ।

जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।