एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

 कपिलबस्तु - कपिलबस्तुको बाणगंगामा विषालु सर्पले डसेर एकै घरका दुई बालिकाको मृत्यु भएको छ । सर्पले डसेर गम्भीर बिरामी परेका बाणगंगा नगरपालिका–९ भलवाडका मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो ।

दिदी र बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले जानकारी दिए ।

उपचारको क्रममा बहिनी रीतिकाको बुधबार बिहान र दिदी इशिकाको साँझ मृत्यु भएको हो । उनीहरुलाई मंगलबार राति घरमा सुतिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि दुवैलाई बुधबार बिहान उपचारका लागि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि अभिभावकले उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए । ढिलो उपचार सुरु गर्दा बालिकाहरुको मृत्यु भएको चिकित्सकले बताएका छन् ।