उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर

 काठमाडौँ - काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उनले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिएका छन् ।

कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ ।