सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट एक पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

काठमाण्डौँ  - काठमाडौँ हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

उनी नेपालबाट भारतमा सुन ओसारपसारमा संलग्न थिए । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए ।

सुन तस्करी प्रकरणको सूचना सङ्कलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङ्कङ गएका छन् । उनीहरुले अहिले पनि तस्करीका सूचना सङ्कलन जारी राखेको प्रहरीले जनाएको छ ।