रास्वपा सांसद गौतममाथि दूर्व्यवहार, राष्ट्रिय दलकै कार्यकर्ता संलग्न रहेको दाबी  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतममाथि दूर्व्यवहार भएको छ । आइतबार काठमाडौँ २ अन्तर्गतका विभिन्न बस्तीमा पुग्ने क्रममा आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका- ६ को मूलपानीमा उनीमाथि केही युवाले दूर्व्यवहार गरेका छन् ।

सांसद गौतममाथि भएको दूर्व्यवहारको जानकारी सदनलाई जानकारी गराएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक सयम लिएर बोल्दै सांसद गौतमले सदनमा रहेको राष्ट्रिय मान्यता प्राप्त दलकै जिम्मेवार पदमा रहेको व्यक्तिहरुले आफूमाथि दूर्व्यवहार गरेको दाबी गरेकी छन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए । कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताइन् । ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए । मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’