प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल हुने 

काठमाण्डौँ - प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल जारी रहनेछ । आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।