वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपति पौडेलको सुझाव  

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ ।

यस दिनको अवसरमा शुभकामना दिँदै  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

“वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।”

दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोेधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताए । 

संयुक्त राष्ट्र सङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’  राष्ट्रिय  नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।