चाबहिलमा एक पुरुषले आफूसहित परिवारका पाँच जनालाई लगाए पेट्रोल छर्केर आगो 

काठमाडौँ । काठमाडौँ चाबहिलका एक पुरुषले आफूसहित परिवारका पाँच जनामाथि पेट्रोल छर्केर आगो लगाएका छन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार गएराति पौने १० बजे काठमाडौँ महानगरपालिका ७ चाबहिल सरस्वती नगरका ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफूसहित श्रीमती र तीन छोरीहरूमाथि आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।

एसपी अधिकारीका अनुसार आफ्नै तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका चञ्चलले मादकपदार्थ सेवन गरि श्रीमतीसँग विवाद गरेको र कोठामै पेट्रोल छर्किएर आगो लगाएको खुलेको छ ।