सुनसरी झडप : ३ जनालाई गोली लागेको पुष्टि,  १० प्रदर्शनकारी र १९ सुरक्षाकर्मी घाइते  

काठमाडौँ । सुनसरीको भुटाहामा तीन जनालाई प्रहरीको गोली लागेको पुष्टी भएको छ। हिजो साँझ एक युवक कुटिएपछि विवादमा तानिएको दुई समूहबीच आज झडप भएको हो ।

निषेधाज्ञाकै बीच स्थानीय  एक समूहले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गरेको थियो। प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका केन्द्रीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी विपीन रेग्मीका अनुसार सुरक्षाकर्मीतर्फ १५ जना जनपद प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ १० जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन चरणबद्ध रुपमा बल प्रयोग गर्नुपरेको उनले बताए।

दिनभरजसो तनाबग्रस्त बनेको सुनसरीमा ३१ राउण्ड हवाई फायर गरिएको छ भने ३१ राउण्ड अश्रुग्याँस प्रहार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन आज दिउँसो २ स्थानीय तहका निश्चित क्षेत्रमा निषेधाज्ञा गरेको स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ।प्रशासनले इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । 

कर्फ्यू जारी गरिएको क्षेत्रमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन र  सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक राजनैतिक सभा, र्‍याली, भेला तथा प्रदर्शन गर्न रोक लगाइएको कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले बताए।