नयाँ सत्ता गठबन्धन : थप चार दललाई गठबन्धनमा ल्याउने कसरत 

काठमाडौँ - चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन् । 

संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्णायक हुने साना दलहरूलाई गठबन्धनमा सामेल गराउनैपर्ने बाध्यता प्रधानमन्त्रीमाथि आइपरेको छ ।

११ महिनादेखि कांग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री रहेका दाहालले सोमबार अप्रत्यासितरुपमा कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिएका थिए । 

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा एमाले ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट गरी १४२ सिटसहित नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।