'राष्ट्रका साझा मुद्दामा दलहरुको एकतालाई निरन्तरता दिनुपर्छ' : सभामुख घिमिरे

काठमाडौँ - सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

सो क्रममा सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको बताए ।

 उनले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको धारणा राखे । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।