'बूढीगण्डकी आयोजनाको काम छिट्टै अगाडी बढ्छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने बताएका छन् ।

बालुवाटारमा गोरखा जिल्लाका गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँग प्रधानमन्त्री दाहालले निर्वाचनका बेला गरिएका प्रतिवद्धता पूरा हुने बताएका हुन् । 

प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुख विष्णुप्रसाद भट्टले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकता लगायतका विषयमा जानकारी गराएका थिए । उनीहरुले छलफलमा प्रधानमन्त्रीसँग गाउँपालिकाको तर्फबाट विषयवस्तु उठान गरेका थिए भने प्रधानमन्त्री दाहालले उक्त विषयवस्तुप्रति आफ्नो धारणा राखेका थिए । 

प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराए ।