प्रेस चौतारी नेपाल स्थापनाको २६ औं वर्षमा प्रवेश

 काठमाडौँ - प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।
विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी २६ औं स्थापना दिवस मनाउँदै छ ।

चौतारीले आज स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रममा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई पुरस्कृत गर्ने भएको छ ।

यसैगरी, चौतारीले अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाञ्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट रौतहटका फणिदेव महतलाई पुरस्कृत गर्ने भएको छ ।