नेपालीलाई रुसी सेनामा पठाउने दुई जना ट्राभस सञ्चालक पक्राउ

काठमाडौँ - नक्कली कागजात बनाइ दिएर मोटो रकम लिँदै नेपाली युवालाई रुसी सेनामा पठाएको आरोपमा प्रहरीले दुई ट्राभल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्राभल सञ्चालक गोरखाका ३१ वर्षीय अर्जुन सुनार र सोलुखुम्बु नेचाका ३५ वर्षीय शेरबहादुर राई छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालय मीन भवनको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार र राईले रूसको होटलमा आकर्षक तलब हुन्छ भन्दै विभिन्न युवाहरूसँग ६ लाख रुपैयाँका दरले उठाएर युवालाई रुस पठाएका थिए । शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स सञ्चालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।