भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ६३ जनाको मृत्यु !

 काठमाण्डौँ - जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
 बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् । 

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।