गण्डकी र लुम्बिनीमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा हुने 

काठमाडौँ - केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा आज मौसममा बदली र वर्षाको सम्भावना रहेको हो । 
बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।  साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।