कुलमानले दोहोराए-'मेरो पदको चिन्ता छैन, महसुल नतिरे उद्योगको लाइन फेरी काट्छु' 

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । 

शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले निश्चित समय दिएर पैसा तिर्ने शर्तमा ६ वटा उद्योगको काटिएको लाइन जोडिएको भन्दै पैसा नतिरे फेरि लाइन काट्ने दोहोराएका हुन् ।

उनले भने ‘६० दिनभित्र महसुल तिरेन भने लाइन कट्नुको विकल्प हुन्नँ । लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको छ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँढ्ने होइन । देशका सबै निकायमा निर्णय भइसके पछि हामी लेखा समितिमा अहिले छलफल गरिरहेका छौं । यो विवादलाई चाँडै सल्टाउन पर्छ ।’

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटिदिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लाइन जोड्न निर्देशन दिएपनि कुलमानले पैसा नतिरेसम्म लाइन नजोड्ने अडान लिएपछि यो विवाद सतहमा आएको थियो । निरन्तरको दवाव आएपछि प्राधिकरणले बोर्डबाट निर्णय गरेर शर्तसहित लाइन जोडिदिएको थियो ।