रातो मच्छिन्द्रनाथको भोटो देखाइने दिन आज

 काठमाडौँ - आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो जात्रा देखाइने भएको छ । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइन्छ । । रातो मस्त्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरूपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिने यो जात्रालाई जा भात वला छर्ने भएकाले जावलाखेल जात्रा भन्ने गरिएको हो ।