प्रचण्डको अस्थिर चरित्रका कारण कांग्रेस - एमालेको गठबन्धन बन्योः महामन्त्री थापा  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेसको प्रतिपक्षमा नै बस्ने चाहना भएपछि प्रचण्डका कारण त्यो सम्भव नभएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो‘, ’ उनले भने, ‘तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

प्रचण्डले एमालेसँग पछिल्लो पटक गठबन्धन गरेपछि पनि दायाँबायाँ गर्न खोजेको उनको दाबी छ । प्रचण्डले कांग्रेससँग फेरि नयाँ खालको लसपस सुरु गरेको आरोप लगाए । कांग्रेससँग लसपस थाहा पाएर एमाले पनि झस्किँदा अहिलेको परिस्थिति निर्माण भएको उनले सुनाए । ‘प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन,’ उनले भने ।

वर्तमान सरकार ढल्नुमा सबैभन्दा बढी जिम्मेवार प्रचण्ड स्वयमं रहेको उनको दाबी छ ।