मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, एकको अवस्था गम्भीर  

काठमाडौँ । जंगली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ।

बुधबार साँझको खानामा जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका- ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्।

त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ । बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ । अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।