आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस् : सांसद दाहाल  

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरूलाई सचेत गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्र मात्र केन्द्रित नगर्न आग्रह गरे । मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकालाई प्राथमिकता दिएर बजेट विनियोजन गरिनुपर्नेमा उनले जोड दिए ।

उनले मन्त्रालयस्तरीय बजेटको किताब आउँदा साधनस्रोतको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरूको ध्यानाकर्षण गराए । “योपटकको बजेटमा मन्त्रीज्यूहरूले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताब ल्याउनुहुने छैन,” उनले भने, “सिंगो मानव सूचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरूलाई केन्द्रमा राखेर साधनस्रोतको न्यायोचित वितरण गरेर रातो किताब आउनेछ । मन्त्रालयस्तरीय बजेटको किताब आउनेछ भन्ने अपेक्षा छ ।”

रणनीतिक सडक र वैकल्पिक लोकमार्गलाई पर्याप्त बजेट विनियोजन गर्न उनले माग गरे । “धेरै वर्षदेखि निरन्तर निर्माणाधीन अवस्थामा रहेका रणनीतिक सडकहरू, निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरू चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माणकार्य ठप्प भएका छन्,” उनले भने, “यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरूलाई स्टमेटअनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद दाहालले संसद् अवरोध शृंखलाको अन्त्य गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको जिकिर गरे ।