भ्रष्टाचार मुद्दा लागेपछि शाहीको सांसद पद निलम्बन

काठमाडौँ - कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीको हैसियले वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ ले कुनै पनि ‘राष्ट्रसेवक’ विरुद्ध भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ । ‘राष्ट्रसेवक’ भन्नाले सरकारी कोषबाट तलबभत्ता खाने र निर्वाचित व्यक्तिहरुसमेत पर्छन् । आयोगले बिहीबार मुद्दा दायर गरेसँगै शाही निलम्बनमा परेका हुन् । उनले मन्त्रीका हैसियतले भ्रष्टाचारजन्य कामलाई सघाउ पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ ।