वाइडबडी विमान खरिदमा भ्रष्टाचार : अख्तियारद्धारा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले पूर्वपर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।

तत्कालीन सचिव शंकर अधिकारी, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला, आपूर्तिकर्तामा बेलायत निवासी दीपक शर्मालाई समेत प्रतिवादी बनाइएको छ ।