जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन्।
“सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ”, उनले भने।

यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिनसक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ।