गठबन्धन फेरिएसँगै प्रदेश सरकार पनि फेर्ने कसरत, शीर्ष नेताबीच छलफल हुँदै

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसलाई हटाएर नेकपा एमालेलाई भित्र्याएसँगै अब प्रदेश सरकार पनि फेर्ने कसरत थालिएको छ ।

नयाँ बनेको सत्तारुढ गठबन्धनमा देशभरको शक्ति बाँडफाँटको छलफल भइरहेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा सम्मिलित गठबन्धन दलका शीर्ष नेता र कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ ।

बालुवाटार बैठकले मन्त्री, मन्त्रालय, प्रदेश सरकारसम्मको भागबण्डा प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । नेताहरू वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र राजेन्द्र श्रेष्ठ लगायत बैठकमा सहभागी रहेका जनाइएको छ ।

मन्त्रालय बाँडफाँटको भागबण्डा मिलाउन गठबन्धनभित्र ४ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् ।