स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।

आज बिहानदेखि क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए ।

“एक÷दुई वटा क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठन दर्ता गराएका छन्”, उनले भने, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।” निर्वाचन कार्यतालिकाअनुसार आज विद्यार्थी सङ्गठन दर्ता गर्ने तोकिएको थियो ।

निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिए । उनका अनुसार आयुर्वेदिक क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता हुन सकेन । उनले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गते विद्यार्थी सङ्गठन दर्ता तोकिएको जानकारी दिए ।