'मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक छ' : अध्यक्ष ओली

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ७७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन २०८४’ छाड्दैनौं । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए । उनले जिफन्टका नेता(कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।