कांग्रेस महासमिति बैठक : अझै ३५ स्थानमा प्रतिनिधि छनोट हुन सकेन

काठमाडौँ - नीति अधिवेशनसमेत गर्ने गरी हुन लागेको कांग्रेस महासमिति बैठक प्रतिनिधि छनोटका कारण अन्योल भएको छ । कांग्रेसले शनिबार २० माघ सम्मका लागि समय दिए पनि अझै कतिपय जिल्लामा प्रतिनिधि छनोट हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार शनिबारसम्म निर्वाचन बाँकी रहेका स्थानबाट प्रतिनिधि छनोट भएको जानकारी आएको छैन । पछिल्लो समय राष्ट्रिय सभा निर्वाचन र समुदायमा कांग्रेस अभियानका कारण प्रतिनिधि छनोटमा ढिलाइ भएको समितिको भनाइ छ । आइतबार बैठक बसेर समय थप या अन्य विकल्पका विषयमा निर्णय गर्ने समितिको तयारी छ ।

महासमिति बैठक ७–१० फागुनमा ललितपुरको गोदावरीमा हुने तय भएको छ । अहिलेसम्म कांग्रेस महासमिति बैठकको मिति तीनपटक परिवर्तन भइसकेको छ । निर्वाचन समितिका अनुसार अझै ३५ स्थानबाट प्रतिनिधि छनोट हुन बाँकी छन् । भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँचीबाट महासमिति सदस्यको विवरण आउन बाँकी छ । 

महासमिति बैठकको मिति पछिल्लोपटक राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर सारिएको थियो । कांग्रेसले सुरुमा १३–१५ मंसिरका लागि महासमिति बैठक तय गरेको थियो । त्यसपछि २९ मंसिरदेखि २ पुस र १६–१९ पुसमा हुने तय गरेको थियो ।