हुम्लामा विहानैदेखि हिमपात : हवाइ उडान प्रभावितसँगै चिसोले जनजिवन कष्टकर 

 हुम्ला - हुम्लामा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौंथो पटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ । बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।

स्वास्थ्यकर्मी भण्डारीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए । चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । यस पटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय कमल भण्डारीले बताए ।