नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, कस्तो छ अवस्था ? 

नवलपरासी - पश्चिम नवलपरासीमा लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् । बर्दघाट–१६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिए ।

सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोली प्रहारबाट घाइते विश्वकर्माको तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल स्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । उनको पाखुरामा गोली लागेको छ ।