राष्ट्रिय सभा चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ता

 काठमाण्डौँ - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार, आउँदो पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिने भएको छ। त्यसमाथि दाबी विरोध गर्न दुई दिनको समय दिएको छ भने पुस २२ मा अन्तिम नामावली प्रकाशित हुनेछ ।

आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गरिने भएको छ ।

त्यसको भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय दिइएको छ भने त्यसमाथि छानबिन गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ। पुस २७ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

पुस २८ मा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। त्यसपछि माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। त्यही दिन मतगणना हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। रिक्त पदमा निर्वाचन हुन लागेको हो ।