संखुवासभा कैदी हत्या प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

संखुवासभा - संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ ।

पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई  कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी  हिरासतमा छन् ।

कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदालतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नताले देखिएको थियो ।