समानुपातिकमा दुईपटकभन्दा बढी उम्मेदवार हुन नपाउने 

काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति सोही निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । 

बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने, बैठकपछि प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख राजनीतिक दलहरुले यसअघि नै समानुपातिकमा दुई पटकमात्र मौका दिने मापदण्ड बनाएको थियो। साविकको निर्वाचन सम्बन्धी कानूनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णयसमेत आयोगले गरेको छ।