रविलाई विश्वप्रकाशको चुनौती : गृहमन्त्रीमै हुनुहुन्छ, हिम्मत भए फाइल खोलेर देखाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्ग प्रशस्त गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकबाट बाहिरिँदै शर्माले एमालेले आज आफ्ना मन्त्री फिर्ता बोलाएपछि प्रचण्डबाट राजीनामा आउनेमा आशावादी रहेको बताए । उनले नयाँ बन्ने गठबन्धन सरकारसामू पनि चुनौती रहेको तर, त्यो चुनौती सामना गर्न आफूहरु तयार रहेको बताए ।

“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”

महामन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न लाग्दा गठबन्धन ढलेको भनेर गरेको दाबीको खण्डन गरे । उनले लामिछाने हालपनि गृहमन्त्री नै रहेको हुँदा हिम्मत भए फाइल खोलेर देखाउन चुनौती दिए ।

उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ । अहिले पनि गृहमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ । नदिए एक महिना हुनुहुन्छ । कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न । भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ ।’

हिजो गृहमन्त्रीले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको बताएका थिए । उनले गिरीबन्धुसहित सबै भ्रष्टाचारको फाइल सरकारले खोल्ने जिकिर गरे ।