देश अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक : अध्यक्ष ओली  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।

“हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो,” उनले भने, “मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।”

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गरे । कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको उनले स्पष्ट पारे ।

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उनले भने, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो । अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।”

“विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन,” उनले भने, “हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो ।” 

अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेको उनको भनाइ छ । उनले एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी भएको बताए । मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ भन्दै यसका लागि अग्रसरता लिने पक्षमा एमाले रहेको उनको भनाइ छ । 

संविधान देश र जनताको सुख र समृद्धि साधन भएको भन्दै अध्यक्ष ओलीले भचने, “हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ ।” 

साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्नेमा उनको जोड छ । फेरि पनि संवाद आवश्यक रहेको भन्दै उनले सबै कुरामा सहमति हुन्छ भन्ने नहुने तर आधारभूत रूपमा सहमति हुनुपर्ने उनको धारणा छ । 

“पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो । यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ,” उनले भने, “त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।”

आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको बताएका ओलीले सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने स्पष्ट पारे । 

अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुन निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको बताए । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।  

“लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ,” उनले भने, “किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ ।”